मकर मेलाको इतिहास

सृष्टिकर्ता ब्रह्माले अहिल्या नाम गरेकी अति सुन्दरी गौतम ऋषिलाई नासोको रुपमा राख्न दिएकोमा स्वर्गका राजा इन्द्रले अहिल्यालाई छक्याई अनैतिक सम्बन्ध राखेको, ऋषिको श्रापबाट इन्द्रको शरीरभरि हजारौं योनी उत्पन्न भएको, इन्द्र र इन्द्रायणीले गुरु बृहस्पतिको सल्लाहबमोजिम लीलावती र पदमावतीको दोभानमा १२ वर्षसम्म महादेवको तपस्या गरेको किम्वदन्ती १२ वर्षे मकरमेलासँग सम्बन्धित छ।

गुरु बृहस्पतिको सल्लाहबमोजिम देवराज इन्द्र पनौती आई १२ वर्षसम्म धैर्यपूर्वक तपस्या गरी बस्दा महादेव खुशी भई इन्द्रको रोग निको पार्न तयार भए। त्यसको लागि इन्द्रले दैनिक नुहाउने लीलावती (रोशी) र पदमावती (पुण्यमाता) खोलाको दोभान नजिकै उत्तरी दिशामा अवस्थित कुञ्जगिरी पर्वतभित्र रहेको अमृतरुपी जडिबुटी औषधी पगाल्न महादेव आफैं भित्र पसी नागराज बासुकीसमेतको सहयोगमा औषधीरुपी नदी बनी आफैं त्यसैमा समाहित भई निस्केकाले त्यसको नाम रुद्रावती रहन गयो। यी तीन नदीको सङ्गमस्थल त्रिवेणी नामले प्रख्यात् भयो र इन्द्रका सम्पूर्ण श्राप पनि नष्ट हुँदै गयो। त्यस समयदेखि प्रत्येक १२ वर्षको उपयुक्त योगमा औषधीरुपी रुद्रावती प्रकट हुने विश्वास छ।

यही भएर हरेक १२ वर्षको मकर राशीमा (माघ महिनाभर) मेला लाग्ने चलन रहेको हो। उक्त शुभ लग्नको बेला पारी नुहाउन सक्यो भने जस्तोसुकै रोग पनि निको हुने जनविश्वासले मकर मेलाको महत्वलाई झनै बढाएको छ।

अर्को कथनअनुसार उक्त रुद्रावती नदी निस्केको बेलामा त्रिवेणीको पानी झिकेर गिलासमा राखी तेल मिसाउँदा तेल पानीमुनि बस्छ। यदि त्यसो भयो भने रुद्रावती नदी बगेको रहेछ भन्ने बुझ्नुपर्छ। औषधी नमिसिएको पानीमा तेलमाथि नै तैरिन्छ। यस्ता धेरै महिमा बोकेको छ- मकर मेलाले। मकर मेलामा त्रिवेणीघाटमा नुहाएपछि त्यहाँको पानी हत्केलामा राखेर गोरखनाथ डाँडामा रहेको गोरखनाथ मन्दिरमा पुर्‍याउने र तल आएर इन्द्रेश्वर मन्दिरको दर्शन गर्ने चलन छ।

पनौती सहर एउटै ढुङ्गामाथि रहेको विश्वास गरिन्छ। यहाँ ऐतिहासिक इन्द्रेश्वर महादेव र ब्रह्मायणी मन्दिरका साथै धेरै सांस्कृतिक सम्पदा छन्। मकर मेला पनौतीबासीको मात्र नभएर सम्पूर्ण हिन्दू धर्मावलम्बीको ऐतिहासिक मेला मानिन्छ।

Photo Credit: Sagar Charan Shrestha