पृष्ठभुमि मकर मेला

परापूर्व कालमा काठमाडौं उपत्यकामा राजा सत्यवर र पनौतीमा राजा दिर्गरथले राज्य गर्थे । एक समय ति दुबै रज्यहरुमा खडेरी परी हाहाकार मच्चिन थल्यो। रज्यमा परेको संकटको समाधानका लागि ति दुबै राजाहरु आफ्ना इष्टदेवि फुलचोकी माईको आराधना गरी अति कष्टले तपस्या गर्न थाले। दुबै राजाको तपस्याबाट प्रसन्न भै बरदान माग भन्नुभयो। यो कुरा सुनि दुबै राजा अति हर्षित भै माता फुलचोकीलाई साष्ताङ्ग दण्डवत् गरि बिन्ति गर्नुभयो- “हे माता! हाम्रो राज्यमा खडेरी परी पानीको आभाव भै हाहाकार मच्चेको छ, तसर्थ हजुरले कृपा गरी हाम्रो रज्यमा १-१ वटा नदी बगाइदिनु भै पानीको संकटबाट मुक्त गरीदिनु पर्योभ।” भनी प्रार्थना गर्नुभएपछि माता फुलचोकीबाट आदेश भयो – “हे राजन! तपाईहरु दुबै जना मेरो कठोर आराधना गर्नुभएको छ, तर मैले एकैपटक दुबै जनालाई यो बरदान दिन मिल्दैन। तसर्थ तपाईहरु मध्ये जसले मलाई सुन र चाँदिको १-१ वटा फूल बनाएर पहिले चढाउनु हुन्छ म उसलाई नदी बरदान दिउँला।” इष्टदेवीको यस्तो बचन भएपछि उपत्यकाका राजा सत्यवर खुशी भएर आफ्नो राज्य पुगी तत्कालै सुन र चाँदिको फूल बनाउन कालिगढलाई आदेश बकस भयो। यता पाँचाल (पनौती) नगरका राजा दिर्गरथ भने आफ्ना राज्यमा कालिगढ नभएको कारण ज्यादै चिन्तित भै आफ्नो राज्यमा फर्कदै गर्दा बाटोमा फुलिरहेको तोरी र मुलाको फूल देखेर, यो फूल सुन र चाँदि जस्तै भएको हुनाले तत्कालै सो फूल मातालाई चढाउने बिचार गरी राजपुरोहित तथा मन्त्रीगणको सल्लाह अनुसार सुनको सट्टा सुन जस्तो देखिने तोरीको फूल र चाँदिको सट्टा चाँदिजस्तो देखिने मुलाको फूल चढाई क्षमा माग्दै दण्डवत् प्रणाम गरी पानी माग्दा माता प्रसन्न भै पाँचाल तर्फ बहने गरी रुद्रावती नामको नदी बरदान दिनुभयो। माता फुलचोकीले राजा दिर्गरथलाई आज्ञा गर्नुभयो – “हे! राजन यस नदीले पाँचाल नगरमा पुगी त्रिवेणी बनी तीर्थ उत्पती गराउनेछ र सोही ठाँउमा प्रत्यक वर्षको माघ महिना भरी मकर मेला लग्नेछ।” यसरी माताबाट बरदान प्राप्तगरी राजा दिर्गरथ आत्यन्त खुसी भै आफ्नो राज्यमा फर्की हर्ष उत्सब मनाउनुभयो।

उता राजा सत्यवर केहि समयपछि सक्कली सुन र चाँदिको फूल माता फूल्चोकीलाई चढाउन आउँदा माताबाट आज्ञा भयो-“हे राजन! तपाई अली ढिला आउनुभयो। राजा दिर्गरथ अघि नै आएर मलाई सुन र चाँदिको फूल चढाएर नदी वरदान लानु भै सक्यो।” तब सत्यवरले माताको शिरमाथि ओइलाएको तोरी र मुलाको फूल देखेर भान्नुभयो-“हे माता, राजा दिर्गरथले त हजुरलाई छक्याएर सुन जस्तो देखिने तोरीको फूल र चाँदि जस्तो देखिने मुलाको फूल चदाएछ, नपत्याए हजुरको शिरको फूल हेरि बक्सियोस् ओइलाएछ।” यो देखेर माता फूलचोकी अति क्रोधित भै आफूले बारदान दिनुभएको रुद्रावती फर्काउनु भै राजा सत्यवरको राज्यतर्फ गोदावरी नामको नदी पठाउनु भयो र प्रत्येक १२ वर्षमा १ पटक गोदावरीको कुम्भमेलाको बरदान दिनुभयो।
यस पछि उता पाँचाल नगरमा बहेको रुद्रावती नदी माता फूलचोकीले फर्काउनु भएपछी उक्त नदीको नाम लीलावती (नेवारी भाषामा फर्कायोलाई “लितकाल” भनिन्छ) भयो । त्यसैले लितकालबाट त्यस नदीको नाम लीलावती भयो । यता पाँचाल नगरमा राजा दिर्गरथले आफूले पाएको रुद्रावती नदी सुक्न थालेकोले अति दुखिभई पुन: माता फूलचोकीको तपस्या गर्नुभयो र सो तपस्या देखि राजा दिर्गरथलाई लीलावती बरदान दिई प्रत्यक वर्ष लाग्ने मेलाको सट्टा प्रत्यक १२ वर्षको माघ महिनाभरी पाँचाल नगरको त्रिवेणीमा मकर मेला लाग्ने गरी बरदान दिनुभयो ।
त्यसरी दुई नदी गएको ठाउँमा सोही समय देखि प्रत्यक ६-६ वर्षको फरकमा १ महिनाभरको ठुलो मेला पनौति(पाँचाल नगर)मा मकरमेला र लालितपुरको गोदावारीमा कुम्भमेला लाग्ने गरेकोछ ।