१२ वर्षे मकरमेलामा यहाँ आएका दर्शनार्थीसँग गैरकानुनी रूपमा रकम असुल गरिएको छ । पनौती नगरपालिकाको अनुमतिमा भन्दै क्लब, पार्किङ, खानेपानी सुधारको नाममा दर्शनार्थीहरूसँग रकम असुलिएको हो ।
नगरपालिकाद्वारा अनुमति नलिई गैरकानुनी तवरमा खुलमखुला रकम लिने काम भइरहेको एक दर्शनार्थीले बताए । ‘जबरजस्ती बिल देखाउँदै रकम मागे’ हेटौंडाका सुमन कार्कीले कान्तिपुरसँग भने, ‘नगरपालिकाको अनुमति लिएर सहयोग उठाएका हौं भन्छन् ।’ उनीसँग पैसा असुल गरेको बिल हेर्दा ज्वालासिंह खानेपानी मर्मत सुधार उपभोक्ता समिति लेखिएको थियो । बिलमा सो समितिको ठेगाना चौकोट भनिएको छ भने नगरपालिका चाहिँ धुलिखेल उल्लेख गरिएको छ । चौकोट पनौती नगरपालिका १ भित्र पर्नेमा नगरपालिका गल्ती उल्लेख गरिएको देखिन्छ । उक्त विलमा समितिको आधिकारिक छाप पनि लगाइएको छैन । उनीसँग सो बिल दिँदै ५० रुपौयाँ असुलिएको छ । त्यसैगरी स-शुल्क पार्किङ बापत भनेर ठेगाना, रकम र पार्किङ क्षेत्र उल्लेख नगरी जथाभावी शुल्क लिएको छ ।
‘पनौती बजार आउँदै थिएँ,’ काठमाडौंका नरेश श्रेष्ठले भने, ‘बीचमा मोटरसाइकल रोकेर तीन जनाको समूहमा रहेका युवाले यहाँ पार्किङ शुल्क तिरी यो बिल देखाएपछि कहीँ पनि शुल्क लिँदैन भनेर ३० रुपैयाँ लिए ।’ पछि पनौती आएर मोटरसाइकल पार्किङमा राख्न खोज्दा त्यहाँ पनि शुल्क तिरेर मात्र राख्न पाइन्छ भनेपछि मात्र आफू ठगिएको थाहा पाएको उनले बताए ।
दैनिक हजारौं दर्शनार्थी ठगिँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । पनौती नगपालिकाको कमजोरीका कारण आफूहरू ठगिएको आरोप मेलामा आई ठगिएका दर्शनार्थीहरूकोे छ । ‘शुल्क लिन नगरपालिकासँग अनुमति लिएका संघ/संस्थालाई नगरपालिकाले नै रसिद दिनु पर्दथ्यो’ सिन्धुलीका हरि पौडेलले भने, ‘सबै मनलाग्दो पाराले रसिद बनाइदिएका हुनाले आफू ठगिएको थाहा नभएको हो ।’ अनुमति दिएकाहरूले दिने रसिदमै तिर्नुपर्ने शुल्क तोकिदिएको भए दर्शनार्थी ठगिनबाट जोगिने उनले बताए ।
‘नगरपालिकाको नाममा केही संघसंस्थाहरूले गैरकानुनी रूपमा पैसा उठाइरहेको हामीले पनि भेट्टाएका छौं,’ पनौती नगरपालिका प्रशासन शाखा प्रमुख इन्द्रप्रसाद अधिकारीले कान्तिपुरसँग भने, ‘यसबारे पनौती प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेका छौं ।’ नगरपालिकाले लिने शुल्क लिन नपाएको परिचय पत्र र अधिपछि चल्नचल्ती आएको नपाको छाप लागेको रातो रंगको रसिद हुने जानकारी दिए । ‘केही नक्कली रसिद जफत पनि गरेका छौं,’ उनले भने, ‘केहीलाई त्यस्तो काम नगर्न सचेत पनि गराएका छौं ।’
नगरपालिकाले रसिदसहित जफत गरेकालाई प्रहरी सामु बुझाएको छैन । नगर्न सचेतमात्र गराउँदै छाडिदिएको छ ।
‘नपाले २ वटा गैरकानुनी रसिद हामीलाई दिएको छ,’ पनौती प्रहरी प्रमुख चन्द्र लामाले कान्तिपुरसँग भने, ‘गैरकानुनी रूपमा रकम असुल गर्नेको खोजी गरिरहेका छौं, भेट्टाउन सकिएको छैन ।’ प्रहरीलाई पनौती नगरपालिकाले गैरकानुनी रसिद मात्र बुझाएको छ । तर दर्शनार्थीसँग गैरकानुनी रूपमा रकम असुल गर्ने व्यक्ति बुझाएको छैन । ‘गैरकानुनी काम रोक्न सक्रियताका साथ हामी लागिरहेका छौं,’ उनले भने, ‘व्यक्ति फेला पारे कडाभन्दा कडा कारबाही गर्छौं ।’
[Source: ekantipur.com]

